धनकुटा । बक्रकुण्ड महादेव मन्दिरको आयोजनामा श्री बक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समितिको १३ औं बार्षिक उत्सव समारोह तथा निःशुल्क स्वास्थ्य शिविरका साथमा नागपञ्चमी मेला सम्पन्न भएको छ ।
नेपाली सेना श्री नं.२ बाहीनी अड्डाको संजकतत्वमा श्री भिमदल गण, सल्लेरी ब्यारेक धनकुटाको आयोजनामा बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर परिसरमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
उक्त मन्दिरमा आउने भक्तजनहरुको स्वास्थ्यलाई मध्यनजर गदै औषधी सहितको निःशुल्क सिविर सञ्चालन गरिएको नं.२ बाहीनी अड्डाका बाहिनीपति सहायक रथी महेस कुमार थापाले जानकारी दिनुभयो ।
उहाँले बक्रकुण्ड मन्दिरको बार्षिक उत्सवको उद्घाटनका अवसरमा बोल्नुहुदै विगतका दिन देखि नै यस मन्दिर र मन्दिर परिसरको सरसफाई, भौतिक संरचना निर्माण गरि मन्दिरको शौन्र्दयकरणलगायतका काममा नेपाली सेनाले निरन्तरता दिदै आएकोहुदा आगामि दिनमा समेत यस धार्मिक पर्यटकीय क्षेत्रको विकासकालागि अह्म भुभिका निर्बाह गर्ने बताउनु भयो । 
धनकुटा नगरपालिका वडा नम्बर १ हिले बजार नजिकै रहेको उक्त मन्दिरमा अवस्थित ठुलो ढुङ्गामा १०८ देवी देवताको आकृती रहेको हुनाले बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर प्रचुर धार्मिक पर्यटकीय संभावना बोकेको क्षेत्रका रुपमा विकास हुदै गएको छ ।
मन्दिर क्षेत्रमा धेरै देवी देवताका प्राकृतिक मुर्तिहरु रहेका छन ।
विक्रम संम्वत २०६७ साल साउन २९ गते विचित्र रुपमा नाग प्रकट भएको र केही समयपछि अलप भएपछि यस स्थानलाई संरक्षण गर्न थालिएको किवदन्दी रहेको छ । नाग पञ्चमीका दिन नाग प्रकट भएको तथा अहिले पनि नाग पञ्चमीका दिन दुई वटा नाग देखिने र सो दिन पानी पर्ने गरेका कारण पनि नाग पञ्चमीका दिन यहाँ विशेष पुजा पाठ सहित धार्मिक मेला लाग्ने गरेको छ । 
यस मन्दिरमा समयसमयमा नेपाली सेनाले सरसफाईका साथै मुल गेट नेपाली सेनाले पुरात्तात्विक महत्व राख्ने इटाको प्रयोग गरी निर्माण गरेको छ । भक्तजनहरुले चिताएको र मागेको पुग्ने विश्वास साथ मन्दिरमा पुजाअर्चनाका लागि धार्मिक पर्यटकहरु आउने गर्नु भएको छ ।
यस मन्दिर क्षेत्रमै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न अग्लो डाँडाबाट दृष्यावलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । जहाँबाट माथिल्लो भागमा हिमालि श्रृखला सहित वरपरका रमणिय पहाडी दृष्यहरु हेर्न सकिन्छ । बक्रकुण्ड पंचेश्वर मन्दिरमा नाग पञ्चमी, रामनवमी, फागुपूर्णिमा लगायतका धार्मिक चाडपर्वहरुमा विशेष पुजा र धार्मिक मेला लाग्ने गरेको छ ।
बक्रकुण्ड पञ्चेश्वर धार्मिक तथा पर्यटन विकास समिति अध्यक्ष लालचन गोग्वाको अध्यक्षता एवं नं.२ बाहीनी अड्डाका बाहिनीपति सहायक रथी महेस कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख चिन्तन तामाग, भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले, स्थानीय, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।




















