धनकुटा । अपाङ्गता भएर हिँडडुल गर्न नसक्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।
धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ४ खोकु स्थित भोक्राङका ३४ वर्षीया आशबहादुर राईलाई घरमै पुगेर नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार राईको शरीरको कुनै पनि भाग नचल्ने भएकाले उहाँको घरैमा गएर नागरिता वितरण गरिएको हो ।
उठ्न समेत नसक्ने अवस्था रहेका आशबहादुर घस्रिएर हिँड्न खोज्ने प्रयास गरेपनि हिँड्न नसक्ने शहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।
नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय ल्याउने प्रयास गरेपनि लान नसकेको परिवारजनको भनाई छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अंकित मंग्रातीको टोली नागरिकता वितरणका लागी घरमै पुगेर नागरिता दिनुभएको उहाँको भनाई छ ।
आशबहादुरलाई पर्डेप नेपाल धनकुटा र सहदिभुमी गाउँपालिकाको न्यायमा पहुँच कार्यक्रम अन्तर्गतको पहलमा नागरिकता प्रदान गरिएको हो । उहाँलाई नागरिकता दिन सहिदभुमी गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन सुवेदी, वडाध्यक्ष भिम बहादुर राई र जिल्ला प्रशासन कार्यालयका सिता सुवेदी सहितको टोली घरमै पुगेर नागरिता वितरण गरेको पर्डेप नेपाल धनकुटा निर्देशक मिनप्रसाद सुवेदीले बताउनु भयो ।




















