विराटनगर । अन्तराष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताहरूको आपूर्ति क्षमता बढाउने उद्देश्यले निर्यातका लागि अपनाउने प्रक्रियाबारे कोशी प्रदेशका किसान तथा व्यापारीहरूको लागि क्षमता विकास कार्यशाला बुधबारबाट विराटनगरमा सुरु भएको छ ।
स्थानीय साना तथा मझौला २१ जना कफी व्यवसायीहरू लक्षित गरी यो कार्यशाला आयोजना गरिएको हो । सन् २०२६ सम्म अतिकम विकसित मुलुकमा स्तरोन्नति हुने प्रयासमा रहेको नेपालका लागि सुक्ष्म, साना तथा मझौला व्यवसायहरू लक्षित यस कार्यशालाले किसान तथा व्यवसायीहरूको निर्यात क्षमता बढाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तराष्ट्रिय व्यापार केन्द्र (आइटिसी) द्धारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (इयुटिआइपी) तथा व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रद्धारा संयुक्त रूपमा आयोजना तथा नेपाल कफी व्यवसायी महासंघको संयोजकत्वमा सञ्चालन गरिएको उक्त कार्यशाला तीनदिन सम्म सञ्चालन हुने नेपाल कफी व्यावसायी महासंघ अध्यक्ष ओम अधिकारीले जानकारी दिनुभयो । 
उहाँले नेपालमा पछिल्ला बर्षहरूमा देखिएको कफी संस्कृति तथा गुणस्तरका कारण स्वदेशी तथा विदेशी बजारमा बढ्दो मागको कारण नेपाली कफीको भविश्य राम्रो रहेको बताउँदै व्यवसायीहरूले गुणस्तरमा जोड दिंदै उत्पादन र निर्यात क्षमता बढाई अन्तराष्ट्रिय बजारको माग र गुणस्तर अनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनु पर्नेमा जोड दिनुभयो ।
विश्व व्पापारमा जोडिएका वा जोडिन खोज्ने नेपालका सुक्ष्म, लघु तथा मझौला व्यवासायहरूको अन्तराष्ट्रिय बजार पहुँच अभिवृद्धिका लागि गैह्र भन्सारजन्य अवरोधहरू तथा बजार सम्बन्धी पूर्व सूचनाको पहुँच सहित प्रतिस्पर्धात्मक क्षमता र अन्तर्राष्ट्रिय व्यापार क्षमता बढाउने मुल लक्ष्यका साथ यो कार्यशाला आयोजना भएको हो ।
नेपाली कफी व्यावसायीहरूको निर्यात क्षमता बढाउन इयु नेपाल टिआइपिले युरोपेली संघ र संयुक्त राज्य अमेरिकालाई लक्षित गरी निर्यात सहजीकरणका दुई छुट्टा छुट्टै गाइडहरू पनि तयार पारेको छ । यी गाइडहरूले नेपाली निर्यातकर्ताहरूले ती दुबै गन्तव्यमा कफी निर्यातका लागि अपनाउनु पर्ने प्रकृया र पालना गर्नुपर्ने मापदण्डका साथै आयातकर्ताले सफलतापूर्वक सम्बन्धित गन्तव्य मुलुकमा पुरागर्नुपर्ने प्रकृयाको बारेमा चरणवद्ध प्रक्रिया समेटेका छन् । 
तालिमका क्रममा कफी क्षेत्रकोबारेमा जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रकृया र आवश्यक कागजात, कफी निर्यात प्रवर्द्धनका लागि व्यापार सहजीकरण र बजार प्रवर्द्धन कफी बजार विश्लेषणका आधुुनिक विधिहरू नेपालका लागि तयार गरिएको ट्रेड म्याप तथा नेपालबाट कफी निर्यातका सम्भावनाहरू र सम्भावित गन्तव्यहरूबारे जानकारी गराइनेछ ।
उक्त अवसरमा बोल्नुहुदै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उप सचिव भक्तराज जोशीले नेपाली कफीको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा प्रचुर रहेको बताउँदै व्यवसायीहरूले कफीको उत्पादन बढाउनुका साथै गुणस्तरमा कुनै कमी आउन नदिइ निर्यातमा जोड दिनु पर्ने आवश्यकता औल्याउनु भयो । उहाँले निर्यातका लागि कफी नेपाल सरकारको प्रमुख प्राथमिकताको वस्तु मध्येको एक भएको बताउनु भयो । जोशीले कफी उत्पादन र निर्यातमा देखिएका समस्याहरू समाधानका लागि व्यवसायी र सरकारले सहकार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाली बजारमा झण्डै १० हजार टन नेपाली कफीको माग भए पनि नेपालमा वार्षिक ३५५ टन उत्पादन, १०० टन निर्यात र ११०० टन आयात हुने गरेको तथ्याङक छ ।
इयु टिआइपीका कार्यक्रम संयोजक डा. विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताहरूको उत्पादन क्षमता बढाइ अन्तराष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न यस कार्यशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल ४२ जिल्लामा ३२०० हेक्टरमामात्र खेती भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यशालामा कोशी प्रदेशका इलाम, संखुवासभा, पाँचथर, झापा, मोरङ, भोजपुर, धनकुटा लगायतका जिल्लाका २१ जना कफी उत्पादक, प्रशोधन तथा निर्यातकर्तामा संलग्न व्यवसायीहरूको सहभागिता थियो ।




















