धनकुटा । ३ सय ३६ जना विद्यार्थी अध्ययनरत विद्यालयले टाढाका विद्यार्थीहरूलाई विद्यालय आउन असहज भएपछि विद्यार्थीहरुको शहजताकालागि दाताहरूको आर्थिक सहयोगमा विद्यालय बस खरिद गरेको छ ।

जिल्लाको साँगुरीगढी गाउँपालिका–६ नाम्जेस्थित ग्रामीण जनता माध्यमिक विद्यालयले एक सय जना दाताहरूको बस खरिदका लागि करिब २७ लाख रुपैयाँ आर्थिक सहयोग रकम संकलन गरेर विद्यालय वस खरिद गरेको हो । 

दाताहरुमा साँगुरीगढी गाउँपालिका–६ भेडेटार निवासी थामेश्वर सुब्वाले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, साँगुरीगढी गाउँपालिकाले ५ लाख रुपैयाँ, धरान–५ सुनसरी निवासी के गुरुङले २ लाख रुपैयाँसहित विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक, विद्यालयमा कार्यरत शिक्षक, अभिभावक, स्थानीय बासिन्दा लगायत रहनु भएको छ । IMG_1606

विद्यालयका प्रधानाध्यापक टंक भूजेलका अनुसार विद्यालयमा पढ्न आउने विद्यार्थीहरूले डेढदेखि दुई घण्टासम्म हिड्नुपर्ने बाध्यता थियो । बस सञ्चालन भएसँगै विद्यार्थीको हिँड्नुपर्ने बाध्यता हटेको छ । बसको भाडा दर सहुलियत राखिएको छ । सवारी चालक र इन्धन खर्चका लागि मात्रै विद्यार्थीसँग सहुलियत दरमा भाडा लिने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर आचार्यले जानकारी दिनुभयो । 

गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले विद्यालय बसको उद्घाटनका क्रममा गाउँपालिकाको आन्तरिक स्रोत कम भएकाले धेरै सहयोग गर्न नसक्ने बताउनु भयो । अहिले उक्त बसले कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने माल्वासे, झरना, कार्कीछाप, सुनसरीको देवथानलगायत टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई सहुलियत शुल्क लिएर सेवा दिइरहेको छ ।