धनकुटा  । पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित भेडेटार सहित आसपासका क्षेत्रमा व्यावसायिक रूपमा सञ्चालित होटलहरूलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले होटल व्यवस्थापन सम्बन्धी पढाइ सुरु गरिएको छ । 

साँगुरीगढी गाउँपालिका–६ नाम्जे स्थित कक्षा १२ मा १२ जना विद्यार्थी अध्ययनरत ग्रामीण जनता माध्यमिक विद्यालयले होटल म्यानेजमेन्टको प्रयोगात्मक अभ्यासका लागि होटल स्कुल सञ्चालन गरि होटल व्यवस्थापन सम्बन्धी पढाइ सुरु गरेको हो । 

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार गतबर्षको शैक्षिक सत्रदेखि देखि नै होटल व्यवस्थापन सम्बन्धी पठनपाठन शुरु गरिएको भएता पनि औपचारिक उद्घाटन अहिले गरिएको हो । भेडेटार क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यहाँ पछिल्लो समय स्तरीय होटल खुल्ने क्रम बढ्दो छ । जसमा दक्ष जनशक्तिको अभाव छ । उक्त अभावलाई यस विद्यालयले उत्पादन गर्ने जनशक्तिले पूर्ति गर्ने अभिब्याक्ति दिदै पालिका अध्यक्ष राईले प्राविधिक धारको पठनपाठनले स्वरोजगार बन्न सहयोग पुग्ने बताउनु भयो ।

उहाँका अनुसार होटल म्यानेजमेन्ट पढाइ सक्ने वित्तिकै रोजगार पाइन्छ । बेरोजगार भएर बस्नु पर्दैन ।IMG_1605 (1)

यो क्षेत्रको अध्ययन गर्ने विद्यार्थीहरूलाई धेरै अवसर हुनेछ । होटल म्यानेजमेन्ट पढाइलाई थप गुणस्तरीय बनाउन पालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउदै होटल म्यानेजमेन्ट संकाय तर्फको कक्षा ११ मा भर्ना हुने गाउँपालिका भरिका जेहेन्दार तथा निम्न वर्गका दुई जना विद्यार्थीलाई पालिकाले अध्यक्ष कोषबाट निःशुल्क पठनपाठन गर्ने व्यवस्था मिलाउने घोषणा गर्दै आफु प्रतिवद्ध रहेको बताउनु भयो । 

होटल म्यानेजमेन्ट सम्बन्धी पढाइ विद्यालयमा भए पनि विद्यार्थीको प्रयोगात्मक अभ्यास होटल स्कुलमा हुने भएकाले विद्यालयले विद्यार्थीको प्रयोगात्मक अभ्यासमा सहयोग पुगोस् भनेर नाम्जेमा होटल स्कुल सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक टंक भुजेलले जानकारी दिनुभयो । उक्त दुई तलाको भवनमा ८ वटा कोठा रहेको छ । भवनको माथिल्लो तलाको ४ वटा कोठालाई अटेज रुम बनाइएको छ, भने भूईंतलामा किचेन र रिसेप्सन बनाइएको विद्यालयले जनाएको छ । 

होटल मेनेजमेन्ट प्राविधिक र प्रयोगात्मक विषय भएको र यसका लागि होटल स्कुल सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर आचार्यले जानकारी दिनुभयो । अध्ययनरत विद्यार्थीले होटल स्कुलको व्यवस्थापन गर्ने गरि सञ्चालन गरिएको विद्यालयमा  कहिले किचनमा अभ्यास, कहिले रिसेप्सनमा र कहिले सर्भिसमा विद्यार्थीहरुले काम गर्न पाउँदा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपको पनि विकास गर्न पाउँदा विद्यार्थीहरुमा खुसि छाएको छ ।