धनकुटा  । साँगुरीगढी गाउँपालिकामा भूमिहीन सुकुम्वासी तथा दलितहरूलाई निस्सा वितरण गरिएको छ । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले साँगुरीगढी गाउँपालिका भरिका ३९ भूमिहीन सुकुम्वासी तथा दलित घरपरिवारलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार निस्सा वितरण गरिएको कुल ३९ घरपरिवार मध्ये १० घरपरिवार भूमिहीन दलित र बाँकी २९ घरपरिवार सुकुम्वासी भूमिहीन रहेको छ । निस्सा वितरण भएसँगै लालपूर्जा प्राप्तिको प्रक्रिया सुरु भएको छ । 

उक्त कार्यक्रममा पालिका अध्यक्ष जितेन्द्र राई, राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष बलबहादुर राईसहित सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, वडाध्यक्षलगायतको रोहवरमा ३० घरपरिवारलाई निस्सा वितरण गरिएको पालिकाले जनाएको छ ।IMG-1607

गाउँपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर भूमिहीन सुकुम्वासी तथा दलितहरूको लगत संकलन गरि वडा सचिवमार्फत रुजु र कम्प्युटर इन्ट्रिको काम पश्चात लगत संकलनबाट प्राप्त नामावलीलाई राष्ट्रिय भूमि आयोगको निर्देशिका अनुसार कार्यपालिका वैठकले भूउपयोग स्वीकृत गरेर प्रमाणीकरण गरी ४६ जनाको नाम आयोगमा बुझाइएको प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले बताए । 

उहाँका अनुसार ४६ जनाको नाम बुझाइए पनि ३९ बाहेक सात जनाका नाममा जग्गा देखिएपछि सूचीबाट हटाइएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष बलबहादुर राईले निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरि जग्गा वितरण गर्न नापजाँच गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपूर्जा वितरणको कार्य सुरु हुने बताउनु भयो ।