धनकुटा । खानेपानीको मुहान संरक्षणका लागि हरेक हप्ता बिरुवा रोप्ने अभियानका साथ धनकुटामा बृक्षारोपण गर्न थालिएको छ ।
खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान सुरु गरिएको हो । उक्त अभियान धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अगुवाइमा निबुवा तांखुवा जलाधार मूलाधार क्षेत्रमा वृक्षारोपण गरि शुरु गरिएको हो ।
मुहान क्षेत्रको संरक्षण गर्दै खानेपानी समस्याको दिगो व्यवस्थापनका लागि वृक्षरोपण अभियान थालिएको धनकुटा नगरपालिकाका नगर प्रमुख एवं खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष चिन्तन तामाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण थालेका छौं, यसलाई अभियानकै रुपमा अघि बढाउछौं’ । ‘अब हरेक साता वृक्षारोपण र मुहान क्षेत्रको सरसफाइ गर्ने योजना बनाएका छौं ।’
अभियानको पहिलो दिन शनिवार धनकुटा नगरपालिका–१ स्थित विद्युत प्राधिकरणको जग्गा, आइतबारे रानी बन, चञ्चलेश्वर महादेव मन्दिर क्षेत्र र आइतबारे मुहान क्षेत्रमा वृक्षारोपण गरिएको थियो । सो क्षेत्रमा धुपी, कल्की र उत्तिसका करिब १ हजार ३ सय बिरुवा रोपिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले जानकारी दिनुभयो । 
असार ३० गते शनिवार आइतबारे मुहान क्षेत्रमा वृक्षारोपण गरिदैछ । सो क्षेत्रमा करिब ३ हजार पाँचसय हाराहारी बिरुवा रोप्ने योजना छ । खानेपानीको मुहान संरक्षणका लागि वृक्षारोपण अभियान थालिएकाले सहभागि हुन खानेपानी उपभोक्ता समितिले सबैमा आव्हान समेत गरेको छ । धनकुटामा दैनिक ३० लाख लिटर पानी खपत हुने गरेको छ । यहाँ ३ हजार ३ सय परिवार खानेपानीका उपभोक्ता छन् । सो जलाधार क्षेत्रबाट पानी ल्याई धनकुटाको सल्लेरी, स्कुलडाँडा, कागते र निगालेको ट्याङ्कीमा जम्मा गरेर पानी वितरण गर्ने गरिएको छ ।




















