धनकुटा । दलित महिला अभियान्तालाई सम्मान गर्दै प्रदेश स्तरीय दलित महिलाहरुको राजनितिमा पहुँच र आर्थिक आत्मनिर्भरता विषयक कार्यशाला गोष्ठि धनकुटाको हिलेमा सम्पन्न भएको छ ।
गोष्ठिको अवसर पारेर तीनजना दलित महिला अभियान्ताहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा दलित महिला संघ धनकुटाका संस्थापक अध्यक्ष इन्दिरा घले, पत्रकार सरिता बराईली, प्रदेशसभा सदस्य कमला दर्नाल, रहनु भएको छ ।
उहाँहरुलाई प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, निरन राई, बिमला दर्नाल, बम विश्वकर्मा, संघका जिल्ला अध्यक्ष यज्ञकुमारी रुचाललगायतले दोशल्ला ओढाएर सम्मान पत्रले सम्मान गर्नुभएको थियो ।
उक्त गोष्ठिमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका मानव शास्त्र केन्द्रिय विभागका प्रमुख डाक्टर डम्बर चेमजोङ्गले नेपाली समाजको चरित्र र दलित मुक्तिको सवाल विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यसैगरी दलित र दलित महिलाको विषयक, दलित समुदायको बर्तमान अवस्था र मुक्तिको सवाल, सरकारमा दलित समुदायको उपस्थिति र आगामी कार्यभारलगायतका विषयमा दलित महिला संघका संस्थापक अध्यक्ष ईन्दिरा घले, मुक्ति समाज नेपाल केन्द्रिय सचिवालय सदस्य नैन विश्वकर्मालगायतले शहजीकरण गर्नुभएको थियो ।
समग्र विकासको अवरोध, जातीय तथा लैंगिक विभेद भन्ने नाराका साथ सम्पन्न गोष्ठिका क्रममा यो जात भन्ने कुरा हाम्रो समाजमा यति जगडीएर रहेको छ ।
यसलाई निर्मुल पार्न धेरै प्रयासहरु गरिए पनि यो प्रयाप्त छैन । किनभने ६२÷६३ को जनआन्दोलनले केहि मात्रामा परिवर्तन ता ल्यायो, तर धेरै समयमा समुदायको सोच अहिले पनि परिवर्तन हुन सकेको छैन, नेपाली समाजमा जात भनिरहनु नपर्ने र अनपढ र जनचेतना नभएकाले जातीय विभेद भएको भनिरहदा पढे लेखेकै मान्छेबाट विभेदित भईरहेको छ ।
जात व्यावस्था अन्त्य गर्नकालागि राज्यले छुवाछुतमुक्त समाज घोषणा गरेको भएता पनी हालसम्म कार्यान्वयनमा नआएकाले दलितहरुलाई जातीय विभेदका रुपमा मानसिक बलात्कार नै गरेको संघका संस्थापक अध्यक्ष इन्दिरा घलेले बताउनु हुन्छ ।
दलित महिला संघ (फेडो) जिल्ला कार्य समिति धनकुटाको आयोजना तथा धनकुटा जिल्ला स्थित सातै पालिकाको आर्थिक सहयोग र दलित एकता समाज, आशा नेपालको संयोजनमा गोष्ठि सञचालन गरिएको थियो ।




















