धनकुटा । ‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ धनकुटाका विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन् ।
२० औं राष्ट्रिय धान दिवसको अवसरमा धनकुटा ६ पात्ले खोला स्थित माननिय ईन्द्रमणी पराजुलीको खेतमा, पात्लेपाङ्गसिङ्गमा सामूहिक धान रोपाइँ गरिएको छ । लोप हुदै गएको हलोजुवा, कोदाली र गोरु नारेर हिलोमा हिलाम्मे भएर बाउसे गर्दै होहोरे हो हो भन्दै लोकलयमा गित संगितका साथमा धान रोपाई हेरिरहु जस्तो थियो । 
बाटो छेउमै खेतमा धान रोपिएको हुदा सडकमा ओहोरदोहोर गरिरहेका वसका यात्रुहरु समेतले गाडि नै रोकेर समेत धान रोपाईको रमाईलो दृष्यावलोन गरिरहेका थिए । यता भने ब्याडमा विउ काड्नेको बेग्लै रमाईलो देखिन्थ्यो । 
अखिल नेपाल किसान महासंघ, कृषि पर्यटन प्रवद्र्धनमा महिला अभियान धनकुटाको आयोजनामा रोपाई तथा शुभकामना आदान प्रदान कार्यक्रमका साथमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको हो ।
पात्ले स्थित रोपाइँमा पुर्व मन्त्रि राजेन्द्र कुमार राई, उपमेयर भिमादेवि अधिकारी, राजनीतिक दलका स्थानीय नेता, समाजसेवी व्यक्ति, कृषक लगायतको सहभागिता थियो । रोपाइँमा नाचगान गर्दै रमाइलो गरिएको थियो ।
दिवसका अवसरमा पुर्वमन्त्रि राईले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो । किसानले सहज रुपमा मल, सिंचाइ र बिउ पाउने अवस्था सिर्जना गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले कृषिलाई यान्त्रिकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनु भयो ।




















