धनकुटा । जिल्ला प्रसाशन कार्यलय धनकुटाले नेपाली नागरिकता पहिलो संशोधन ऐन २०७९ बमोजिम जन्म सिद्धको आधारमा नागरिकता प्रमाण पत्र लिएका बाबुआमाका छोरा छोरीलाई वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र दिन शुरु गरेको छ ।
जन्म सिद्धको आधारमा नागरिकता प्रमाण पत्र लिएका सुरेश सहनीका छोराछोरीलाई मंगलबार वंशजको आधारमा पहिलो सेवागा्रहीका रुपमा जिल्ला प्रशासन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत प्रसाशनका कर्मचारीहरुले नेपाली नागरिकता प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो ।
सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खोलेसँगै विगतमा नयाँ ऐन अनुसार रोकिएको नागरिकता वितरण कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार नागरिताको सिफारिस सम्बन्धमा नेपाल नागरिता ऐन २०७९ मिति २०८० जेठ १७ गतेको राजपत्रमा प्रकाशित सुचना बमोजिम बाबु र आमा दुबैको सक्कल नेपाली नागरिकताको प्रमाणपत्र, सक्कल जन्मदर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, बाबु आमा र सन्तानको फोटो सहितको नाता प्रमाणित, स्थायी बसोबास खुल्ने कागजात, बसाई सराई आएको हकमा बसाई सराई दर्ता प्रमाणपत्र, निवेदकको आमाको नागरिकतामा बाबुको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र, बाबु आमाको मृत्यु भएको हकमा मृत्युदर्ता प्रमाणपत्र, स्थानीय तहले नेपालमा नै जन्म भई निरन्तर बसोबास गरेको भनि गरिदिएको स्थायी बसोबास प्रमाणित लगायतका कागजात लिएर आउनु पर्नेछ ।




















