सुनसरीको रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को लागि ६८ करोड २१ लाख रुपैँयाको बजेट ल्याएको छ ।


बजेटले आम स्थानीय तहले झैं पुर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायत विभिन्न विषयमा नीति बनाएको छ , त्यसबाहेक केही नौला नीति तथा अभियानसमेत यो पालिकाले गर्दै आएको छ । 

नगरपालिकाले रामधुनी मन्दिरलाई बराहक्षेत्र, विष्णुपादुका, पिण्डेश्वरी मन्दिरसँगको सर्किटमा जोड्ने नीति लिने भएको छ । रामधुनी मन्दिरलाई भारतले बनाउन लागेको राम सर्किटमा समेत जोड्ने विषयमा पहल भइरहेको छ । 

यस्तै नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनेसमेत नीति ल्याएको छ भने, त्यसको लागि “एक घर एक करेसाबारी” भन्ने नारा लिइएको छ ।अर्गानिक तरकारी उत्पादनलाई नगरभरी विशेष अभियानका साथ सञ्चालन गरिनेछ र आगामी एक वर्ष भित्र तरकारीमा आत्मनिर्भर नगर घोषणा गर्ने नीति नगरपालिकाले लिएको छ ।

यस्तै  सुनसरी मोरङ सिँचाई कमाण्डक्षेत्र आसपासका जग्गाहरु बाँझो राख्न नपाउने व्यवस्था गर्ने र खाली जमिनमा खेती गर्न नगरवासीलाई प्रोत्साहित गर्ने नीति लिइएको छ  भने  , प्रत्येक वर्ष मेयर उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था गरिएको छ ।   

यस्तै नगरपालिकाले करारका कर्मचारीहरुलाई पनि नेपाल सरकारको तलबमान अनुसार तलब भत्ता भुक्तानी गर्ने बजेटमा घोषणा गरिएको छ ।

नगर भरीका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा एकै प्रकारको स्थानीय पाठ्यक्रम लागू गर्ने योजना बनाइएको छ भने बालमैत्री स्थानीय शासनका सन्दर्भमा कोशी प्रदेशकै नेतृत्व लिनेसमेत घोषणा गरिएको छ । अन्तरजातिय विवाह गर्ने जोडिलाई सम्मान गर्ने नीति लिइने जनाइएको छ भने १२ बर्षभन्दा अघि समयदेखि श्रीमान वेपता रहेका र सम्बन्ध विच्छेद भएका महिलाहरुलाई राहत दिन नीति बनाइने घोषणा गरिएको छ । एकल महिलाहरुसँगै श्रीमान बेपत्ता भएका र छोडपत्र भएका महिलाहरुसमेत समस्यामा रहेको नगरपालिकाको भनाई छ ।