धनकुटा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यावस्थापन एकाइ खुमलटार मार्फत परियोजना कार्यान्वयन एकाइ तेह्थुम अन्र्तगत तेह्थुम र धनकुटा जिल्लाका केहि पालिकाहरुमा जोन विकास कार्यक्रम अनुरुप तेह्थुम जिल्लामा अलैचि, तरकारी र धनकुटा जिल्लामा तरकारी र तीनवटा क्लष्टरमा सुन्तलामा जोन विकास कार्यक्रम सञ्चालन भईरहेको छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने सोच सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट धनकुटामा १० बर्षसम्म सञ्चालन हुने गरि यो परियोजना २०७३ सालबाट शुरु भएको हो । 
२०८३ सालसम्म धनकुटामा सञ्चालन गरिने यो परियोजनालाई कृषि विकास रणनीतीको लागि सहयोगी परियोजनाको रुपमा र पन्ध्रौं योजनामा रुपान्तरणकारी परियोजनाको रुपमा लिई प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि बस्तुहरुको मुल्य अभिबृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखि व्यावसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने र बहुसरोकारवाला निकायहरुविचको कार्यमुलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको शुनिश्चितता गर्ने मुख्य उद्धेश्यका साथ यस परियोजनाले सुपरजोन, जोन, ब्लक, र पकेटमा सञ्चालित परियोजनाको प्राथमिकतामा रहेका बालीबस्तु र कार्यक्रमहरु सञ्चालनमा सम्लग्न अनुदानग्राहीहरु कृषक समुह, सहकारी, निजी फर्महरु मार्फत कृषी उपजको प्रशोधन केन्द्र र कष्टम हायरिङ्ग सेन्टर, बालिहरुको क्षेत्र विस्तार, चाक्लाबन्दी, नर्सरी स्रोत केन्द्र स्थापना, साना सिंचाईलगायतका कार्यक्रम धनकुटामा सञ्चालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाइ तेह्थुमका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत डा.सन्जय कुमार यादवले बताउनुभयो । 
परियोजना कार्यान्वयन इकाई तेह्थुम मार्फत धनकुटा र तेह्थुम दुई जिल्लामा चारवटा जोन मार्फत कृषिमा आधुनिकिकरण गर्ने कार्यक्रम सञ्चालनमा रहेको छ । चार वटा सम्भागमा सन्चालित कार्यक्रम अन्तर्गत पकेट विकास कार्यक्रम स्थानीय तहबाट, ब्लक विकास कार्यक्रम प्रदेश अन्र्तगतका जिल्ला स्थित कृषि÷पशु सम्बन्धी सेवा पुर्याउने कार्यालयहरुबाट तथा सुपरजोन÷जोन विकास कार्यक्रम संघीय निकाय अन्र्तगतका परियोजना कार्यान्वयन एकाईहरुबाट सञ्चालन भईरहेका छन् । 
जस अन्र्तगत धनकुटा जिल्लामा धनकुटा नगरपालिकाका १ र ३ नम्वर वडा, शहिदभूमि गाउँपालिकाका २, ४, ५ र ६ नम्वर वडा र साँगुरीगढी गाउँपालिकाका २ र ३ नम्वर वडा गरि जम्मा ८ वटा वडामा सुन्तला जोन परियोजनाको जोन प्राबिधिक इकाईले सुन्तला जोनमा काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइ तेह्थुम सुन्तला जोन धनकुटाका प्राविधिक सहायक धर्मराज कटुवालको भनाई छ ।
उहाँका अनुसार कृषि उपजको उत्पादन बृद्धि र क्षेत्र विस्तारमा, कृषि व्यावसायिकरण, आर्थिक÷सामाजीक सुधारमा एःब्ःए को योगदान, पुर्वाधार निर्माण÷ यान्त्रिकीकरण÷ कस्टम हायरिङ्ग सेन्टर मार्फत अनुदान रकमको उपयोग, पारदर्शिता र लक्षित वर्गलाई यसमा समेटिएको छ ।
धनकुटा नगरपालिका वडा नम्वर ३ मा यस परियोजनाले स्थानीय तहको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना कार्यक्रम मार्फत मेमर्नी विरुवा नर्सरी र निशान फलफुल विरुवा नर्सरीमा स्क्रिन हाउस निर्माण गरेको छ । स्क्रिन हाउसभित्रका विरुवा बाहिरका जस्तो रोग नभएका स्वस्थ्य र राम्रा हुने भएकाले उत्पादन बढि हुने निशान फलफुल विरुवा नर्सरीका सञ्चालक भुपेन्द्र थापाले बताउनुभयो । सोहि वडाकोकटुवाल निजि नर्सरीमा सुन्तलाको विरुवा उत्पादनकालागि हाईटेक नर्सरी र गाईबस्तुको गहुत संकलनका लागि ट्यांकी निर्माण गरिदिएको छ । धनकुटामा जोनको क्षेत्रविस्तारका लागि किसानहरुलाई विरुवा वितरण, मलखाद, खाडल तयारीलगायतका काम भईरहेका छन् भने साना सिंचाईमा पाईप, प्लाष्टिक पोखरी, ट्यांकी निर्माणलगायतका काम सञ्चालनमा रहेको छ । लक्ष्मि पशुपालन तथा फलफुल नर्सरी फर्मलाई अनुदान स्वरुप निर्माण गरेको पानि ट्यांकीमा पानी भरेर हिउदमा विरुवालाई सिंचाइमा शहज भएको छ । 
स्थानीय तहको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापना गर्न चाहने र गरिरहेका किसानकालागि हाईटेक नर्सरी श्रोत केन्द्र स्थापना लगायतका काम भईरहेका छन् । विदेशको तातो मरुभूमिमा धेरै बर्ष विताएर आफ्नै स्वदेशमा केहि गर्ने र स्थानीयलाई रोजगार समेत दिने उद्धेश्यले नेपाल फर्किनु भएका धनकुटा नगरपालिका वडा नम्वर ३ सेउले निवासि राजु कटुवाललाई पनि जोन मार्फत सञ्चालन भएको योजनाले अनुदानमा हाईटेक नर्सरी बनाईदिएर नर्सरीमा स्वस्थ विरुवा उत्पादन गर्न पाउँदा किसानमा खुसि छाएको छ ।
परियोजना सञ्चालन सँगै सुन्तला व्यावसायी किसानहरुलाई व्यावसायीक बन्न सहयोग पुगेको छ । धनकुटा नगरपालिका वडा नम्वर ३ स्याउले स्थित लाकुरे चिउरीबारी कृषक समुह, देवका फलफुल नर्सरी, कटुवाल निजि नर्सरीलाई स्क्रिन हाउस, सुन्तला जात फलफुलमा लाग्ने औसा किरा नियन्त्रणकालागि प्रोटीन वेडको प्रयोग, बगैचा स्याहार सम्भार तथा व्यावस्थापन, उन्नत प्रविधि सहित क्षेत्रविस्तार कार्यक्रम सम्बन्धी स्थलगत तालिम तथा सामाग्री वितरण लगाएतका कार्यक्रम सम्पन्न गरेको समुहका अध्यक्ष जितेन्द्र राईले बताउनुभयो । 
सुन्तलाको बगैचामा किरा लागेर हैरान पारिरहेको अवस्थामा परियोजना मार्फत औसा किरा मार्ने प्रोटिन बेड, यान्त्रिकरणकालागि मिनिटिलरका साथै पावर स्प्रे, स्प्रेलगायतका ब्यवस्थापन सामाग्री वितरण गरेर उत्पादन बढाउन सहयोग गरेको छ । उन्नत प्रबिधि सहित क्षेत्र विस्तार कार्यक्रम मार्फत साँगुरीगढी गाउँपालिका वडा नम्वर ३ स्थित खुवाबुङ्ग पिपल मिश्रित कृषक समुहलाई सुन्तलाको विरुवा र प्राङ्गारीक मल, साना सिंचाईकालागि पाईप, ट्यांकीलगायतका कृषि सामाग्री वितरण गरिएको छ ।
चाक्लाबन्दीमा सुन्तला खेती कार्यक्रम मार्फत १५० रोपनिमा सुन्तला खेती गर्नका लागी आवस्यक विरुवा मलखाद खाडल खन्ने मेसिन खनजोतका लागी मिनिटीलर र सिचाइका लागी २५ वटा प्लास्टीक पोखरी निर्माण भएका छन भने एक दिवसिय सुन्तलाखेती प्रबृधि विषयक स्थलगत तालिम सञ्चालन गरि शहिदभुमि गाउँपालिका वडा नम्वर ४ स्थित हिमायती कृषि सहकारी संस्थालाई कृषि सामाग्री समेत वितरण गरीएको छ । 
यस परियोजना मार्फत धनकुटामा ३२८ हेक्टर जमिन क्षेफलमा १२४८ मेट्रिकटन सुन्तला उत्पादन भएको परियोजनाको तथ्यांककमा उल्लेख छ । धनकुटामा ११ कृषक समुह, ४ वटा सहकारी, ४५ वटा निजि फर्ममा आवद्ध १६० महिला र २३७ पुरुषले प्रत्यक्ष लाभ लिईरहेका छन् ।




















