धनकुटा । हिमधारा कम्पनीको पानीमा मरेको किरा र भातको सिता भेटिएको छ । 

धनकुटा नगरपालिका स्थित सञ्चयकोषको कार्यालयमा राखिएको जारको पानीमा किरा र भातको सिता फेला परेको हो । सुनसरीको इटहरी महानगरपालिका वडा नम्वर १० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ जारभित्र पखेटासहितको मरेको किरा र भातको सात वटा सिता फेला परेको कर्मचारी सञ्चयकोषका प्रमुख सहायक पूर्ण याखाले जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘सफा हुन्छ भनेर जारकै पानी ल्याएर खाने गरेका थियौं, अहिले ल्याएको जारको भाँडोभित्र त किरा पनि छ, सात÷आठ वटा भातको सिताहरु पनि देखिन्छ,’ । ‘एउटा भाडोमा यस्तो देखेपछि साह्रै घिन लाग्यो, अरु जारको पानी पनि त्यत्तिकै राखेर अहिले धाराको पानी तताएर खाँदैछौं ।’

धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट सञ्चयकोषका कर्मचारीले आइतबार खरिद गरि लगेको चार वटा जार मध्येको एउटा जारको पानीमा अखाद्य बस्तु फेला परेकोे हो । IMG_20230622_123208

जसमध्ये एउटा सिलप्याक जारभित्र प्रस्टै देखिने गरी किरा र भातको सिताहरु देखिएपछि कार्यालयका कर्मचारीहरु आश्चर्य चकित बन्नु भएको छ । सञ्चयकोषका कार्यालय प्रमुख दिपेन्द्र सापकोटा जारको पानी उत्पादक कम्पनीको चरम लापरबाही देखिएको गुनासो गर्नुहुन्छ । चिया छान्नेले नै छान्यो भने पनि यत्ति धेरै फोहोर त आउँदैन, यो त खोलाकै पानी सिधै उठाएर हाले जस्तो भयो, एउटै जारमा यत्ति धेरै फोहोर हुनु त यो मानव स्वास्थ्यमाथि ठूलो खेलवाड हो ।’ 

उपहार पानी उद्योगकै गाडीले गत शनिवार धनकुटाका बिभिन्न पसलहरूमा बिक्रीका लागि मिनरल वाटर र जारको पानी दिएको थियो । सनोज किरानामा पनि सोही दिन सात वटा जार राखिएको थियो, जसमध्ये एउटा जारमा यस्तो अखाद्य पदार्थ फेला परेको हो । बर्षौ अघिदेखि सो उद्योगको गाडीले नै पसलहरूमा बिक्रीका लागि मिनरल वाटर र जार ल्याइदिने गरेको पसल सञ्चालकहरूको भनाई छ । 

यसैबीच, जारमा अखाद्य बस्तु फेला परेको जानकारी पाएपछि सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका प्रतिनिधिले सञ्चयकोषको कार्यालयमा पुगेर जार निरीक्षण गर्नुभएको छ । जारको सिलप्याक भाँडोभित्र अखाद्य पदार्थ भएको पुष्टि भएकाले जार उत्पादक कम्पनीमाथि कारबाही प्रकृया अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिनुभयो । 

मरेको किरा र भातको सिता भेटिएको जार नियाल्दै सञ्चयकोषका कर्मचारीहरू आचश्चर्यचकित बनिरहेको बेला यता, जार उत्पादक हिमधारा कम्पनीका सञ्चालक जितेन्द्र दाहाल भने यो विषयलाई गम्भीर रुपमा नलिई खाना पकाउँदा कपाल पर्नु स्वभाविक भएको तर्क प्रस्तुत गर्दै आफ्नो बचाउँ गरिरहनु भएको छ ।