बिराटनगर । बिराटनगर महानगरपालिका वडा नम्बर ५ निबासी युबराज कार्की विरुद्ध चेक जालसाजी र ठगी सम्बन्धी मुद्धा अदालतमा दायर हुनुका साथै अनुचित लेनदेन( मिटर व्याज) सम्बन्धी जाँचबुझ आयोग र केन्द्रीय अनुसन्धान व्युरोमा किर्ते, ठगी तथा जालझेल गरेको अभियोगमा जाहेरी परेको छ । बिराटनगर १५ स्थित निर्माणाधिन ग्लोबल आइ हस्पिटलका सञ्चालक जयाउर रहमानले उनकै साथी पर्ने युबराज कार्कीबिरुद्ध जिल्ला अदालत मोरङमार्फत मुद्धा दायर गर्नुका साथै ति जिम्मेबारमा जाहेरी दिएका हुन ।
रहमानले अदालतमार्फत दायर गरेको मुद्धाको फिरादपत्रमा निज कार्की र उनीबीच साथीको सम्बन्ध रहेको व्यवहारिक कामको सिलसिलामा आफुले हस्ताक्षरमात्र गरी कार्कीलाइ राख्न दिएको खाली एक थान चेकमा निज कार्कीले उनकै लेखाइबाट ९९ लाख रुपयाँको चेक लेखेर उनी बिरुद्ध चेक अनादरको झुठा मुद्धामा फसाउने काम गरेको उल्लेख छ ।
आफुले कार्कीबाट कहिल्यै ९९ लाख रुपया नलिएको केबल हस्ताक्षर गरेको अन्य व्यवहारिक काम हुनसक्ने भन्दै साथीलाइ विश्वास गरी राख्न दिएको चेकमा निजले नै आफ्नै लेखाइबाट ९९ लाखको चेक भरेर चेक अनादरमो झुठा मुद्धामा फसाउने काम गरेको रहमानको आरोप छ ।
आफुले कार्कीबाट कुनै रकम नलिएको र कुनै रकम दिनुपर्ने अबस्था पनि नरहेको स्थितिमा आफुलाइ झुठा तरिकाले फसाएको थाहा पाएपछि निज कार्कीसंग कुरा गर्दा आफुलाइ १५ लाख दिनुपर्ने र मुद्धाको क्रममा भएको खर्चसमेत गरेर जम्मा पचास लाख दिएमा मुद्धा र्फिता लिन्छु भनेर निज कार्कीले भनेको रहमानको भनाइ छ ।
यही क्रममा आफुले अनावश्यक तनावबाट मुक्ति पाउने भन्दै नविल बैंकको पचास लाखको चेक दिएको, तर निजले त्यस पछि पनि मुद्धा फिर्ता लिने नियत नदेखाएपछि खातामा रकम जम्मा नगरेको फिरादपत्रमा उल्लेख छ । त्यस पछि निज कार्कीले पुन पचास लाखको चेकसमेत राखेर चेक अनादरको मुद्धा हालेपछि अधिक पीडा महशुस गरी अदालतमार्फत आफुले चेक जालसाजीको मुद्धा दायर गरेको रहमानको भनाइ छ ।
रहमानले भनेका छन्, ‘निज कार्कीबाट मैले कहिल्यै ९९ लाख रुपयाँ लिएको पनि छैन, थप पचास लाख तिर्नु पनि छैन ।’ यस्तो अबस्थामा आफुमाथि झुठा रुपमा जालसाजी, ठगी र किर्ते गरेकोले निजको बिरुद्ध प्रहरीको जिम्मेबार निकाय, मिटर व्याजसम्बन्धी जाँचबुझ आयोग र अदालतसमेतमार्फत न्यायको लागि जाहेरी दिनुका साथै मुद्धासमेत दायर गरेको रहमानले बताएका छन् ।




















