धनकुटा । स्व.राकेश राई स्मृति अक्षय कोष हस्तान्तरण कार्यक्रम २०८० सम्पन्न भएको छ ।
जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नम्वर ५ को प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारमा कार्यरत स्वास्थ्यकर्मी स्व. राकेश राईको स्मृतिमा २ लाख बढि रकमको परिवारले अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गर्नु भएको छ ।
राईको सडक दुर्घटनामा परि २ बर्ष अघि निधन भएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र डाँडाबजारमा आयोजित एक कार्यक्रमका विच उक्त रकम स्व.राईका वुवा अकल वहादुर राई र आमा राजकुमारी राईले स्वास्थ्य केन्द्रका प्रमुख डा.जुवेर आलम अन्सारी, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र ५ नं. वडाका वडाध्यक्ष खड्गबहादुर लिम्बुलाई हस्तान्तरण गर्नु भएको हो ।
संयुत्त रुपमा अक्षयकोष स्थापनाकालागि दुईलाख ५१ हजार रुपैयाँको चेक र अक्षय कोषको आवश्यक कागजातहरु हस्तान्तरण गरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट स्वास्थ्य, शिक्षा लगायत अन्य महत्वपूर्ण कार्यमा खर्च गरिने छ ।




















