धनकुटा । गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन धनकुटा नगरपालिकाले धनकुटा नगरपालिका वडा नम्वर २ स्थित भीरगाउँ स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु गरेको छ ।
एक हेल्थ असिस्टेन्ट, दुई अनमी र एक अहेबले स्वास्थ्य सेवा दिदै आएको यस स्वास्थ्य चौकीमा नगरपालिकाले ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाए सँगै प्रसूति सेवा सुरु गरेको हो ।
भीरगाउँबासीलाई प्रसूतिमा शहज होस भन्ने उद्धेश्यले धनकुटा नगरपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एक जना प्रसूति गराउन दक्ष अनमी थप गरेर प्रसूति सेवा सुरु गराएको नगरपालिकाको स्वास्थ्य उपशाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिनुभयो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङका अनुसार प्रसूति गराउन धनकुटा अस्पताल धाउने गरेका भीरगाउँवासीलाई गाउँमै सेवा उपलब्ध गराउँन स्वास्थ्य चौकीमा कर्मचारी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरिएको हो । नगरपालिकाकै आन्तरिक स्रोतबाट सेवा सुविधा उपलब्ध गराउँने गरी एसबीए तालिम प्राप्त दक्ष अनमी थप गरेर वर्थिङ सेन्टर सञ्चालन गरेका छौं । नगर प्रमुख तामाङले भन्नुभयो । ‘वर्थिङ सेन्टर सुरु भएपछि भीरगाउँ स्वास्थ्य चौकीमै डेलिभरी हुन थालेको छ, यसले भीरगाउँबासीलाई निकै सजिलो भएको छ ।’
अहिले स्वास्थ्य चौकीबाट गर्भावस्थामा गर्नुपर्ने नियमित गर्भजाँच र २४ सै घण्टा प्रसूति सेवा प्रदान गर्ने गरिएको छ । गाउँमै प्रसूति सेवा सुरु भएपछि भीरगाउँबासीमा खुसियाली छाएको छ ।
स्वास्थ्य चौकीमा प्रसूति गराउनु भएकी स्थानीय मन्दिरा भुजेलले गाउँमै प्रसूति सेवा पाउँदा धेरै सजिलो भएको बताउनु भयो । पुस २७ गतेबाट सेवा सुरु गरिएको स्वास्थ्य चौकीमा हालसम्म गाउँका दुई जना गर्भवती महिलाले बच्चा जन्माइसकेका छन् । स्वास्थ्य चौकीमा प्रसूति गराउँनेहरुलाई यातायात खर्च वापत दुई हजार रुपैयाँ, नियमित प्रसूति जाँच प्रोत्साहन स्वरुप आठ सय रुपैयाँसहित आमालाई एक सेट र बच्चालाई दुई सेट कपडा पनि उपलब्ध गराउँने गरिएको स्वास्थ्य चौकी प्रमुख नितेश श्रेष्ठले बतनाउनु भयो ।
यो सँगै धनकुटा नगरपालिकामा जिल्ला अस्पताल बाहेक दुई वटा वर्थिङ सेन्टर भएका छन् । बेलहारा स्वास्थ्य चौकीमा पनि वर्थिङ सेन्टर सञ्चालन गरेर सेवा प्रदान गरिदै आएको छ । धनकुटा नगरपालिकाका सबै वडामा सहरी स्वास्थ्य क्लिनिक खोल्ने तयारी पनि भइरहेको धनकुटा नगरपालिकाले जनाएको छ ।




















