संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिकाले नगरका महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अभियान थालेको छ । जसका लागि नवप्रवर्धन कार्यक्रम अन्तरगत महिलाहरुलई लक्षित गरि खाडीको कपडा बनाउने तालिम सञ्चालन गरेको छ ।
धर्मदेवी नगरपालिकाले नवप्रवर्धन कार्यक्रम अन्तरगत नगरका विपन्न परिवारका महिलाहरुलाई १ महिना सम्म खाडीको कपडा बनाउने तालिम प्रदान गरेको हो । पछिल्लो समय खाडीको कपडाको माग बढेको तथा महिलाहरुले घरमै बसेर आयआर्जन गर्न सक्ने भएकाले तालिम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा पर्यटन विकास गरि स्थानीय उत्पादनलाई विक्री वितरण गर्ने उद्देश्यका साथ महिलाहरुलाई घरेलु उत्पादनलाई जोड दिदै तालिमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालले बताए ।
तालिममा सहभागी महिलाहरुले तालिम निकै उपलब्धि मुलक रहेको र नगरपालिकाले पनि तालिम लिएका महिलाहरुलाई व्यवसायीक रुपमा अघि बढ्न सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।
कतिपय सहभागी महिलाहरुले त व्यवसायीक रुपमा अघि बढ्न खाडी कपडा बुन्ने तान मेसिन खरिद गरिसकेको समेत बताएका छन् । अब खाडी कपडा बुनेर विक्रि गरि आयआर्जनमा लाग्ने प्रशीक्षार्थी रीतादेवी श्रेष्ठले जानकारी दिइन् ।
यस्तै कतिपय महिलाहरुले तालिम लिएर कपडा बनाउन सक्ने भएपनि व्यवसायीक रुपमा अघि बढ्न आर्थिक समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले नगरपालिकाले तालिम प्रदान गरेकोमा धन्यवाद दिंदै अब व्यवसायीक रुपमा अघि बढ्न पनि सहयोग पुग्ने प्रशीक्षार्थी अन्जु विश्कर्माले बताइन ।.
नगरपालिकाले नवप्रवर्धन कार्यक्रम अन्तरगत प्रदेश सरकारसँग साझेदारी गरेर विपन्न परिवारका महिलाहरुलाई लक्षित गरि खाडीको कपडा बुन्ने तालिम दिएको हो । सोही कार्यक्रम अन्तरगत नै नगरपालिकाले महिलाहरुलाई अल्लो र ढाकाको कपडा बुन्ने तालिम पनि प्रदान गरेको छ । यसका साथै युवाहरुलाई लक्षित गरि बाँसको मुढा लागयतका सामाग्री बनाउने तालिम पनि प्रदान गरेको छ ।




















