सुनसरी ः झुम्का खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिले खानेपानी बिस्तारका लागि शनिवार झुम्का सहरी खानेपानीको शिलान्यास गरेको छ । संघीय सरकारको खानेपानी मन्त्री उमाकान्त चौधरीले ९ लाख लिटर क्षमताको ओभरहेड टैंकी शिलान्यास गर्नु भएको हो ।

रामधुनी नगरवासीहरूमा समयमै स्वच्छ खानेपानी उपलब्ध गराउन समयसीमा भित्रै योजना सम्पन्न गर्न निर्देशन दिनु भयो । खानेपानी मानव स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने भएकोले पूर्ण व्यवस्थापनमा व्यवस्थित रूपले सञ्चालन हुनु पर्ने बताउनु भयो । ओभरहेड टैंकी निर्माणले रामधुनी नगरवासी २४ संै घण्टा स्वच्छ खानेपानी पाउने बताउनु भयो । 

झुम्का सहरी खानेपानी रामधुनी वडा नं. १, २, ३ र ५ मा सेवा क्षेत्र बिस्तार हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कडेलले जानकारी दिए । 

लागत अनुमान रु ६१ करोड ७ लाख १२ हजार रहेको छ । नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग, नगरपालिकाउपभोक्ताहरु बाट ५ प्रतिशत लागत साझेदारीमा निर्माण हुन लागेको छ । २०७८ पुष १२ गते सम्झौता भएर दुई वर्षमा सम्पन्न गर्नु पर्ने छ । निर्माणका लागि शर्मा भिमेश्वर जे. भी.ले रु ३६ करोड ५३ लाख ८१ हजारमा ठेक्का पाएको छ ।

सहरी खानेपानीका लागि नयाँ पाइप लाइन बिस्तार गरी सेवा दिने जनाएको छ । ओभरहेड संचालनका लागि डिपो ट्युबेल ३ वटा, सर्भिस रिजर्भ टैंक १, ओभरहेड टैंक १, प्रशोधन प्रणाली ४ वटा, फायर हाड्रान्त १० वटा, संरचना निर्माण हुने छ भने पहिलो चरणमा ४ हजार ३१ वटा घरधुरीमा कनेक्सन गर्ने समितिले जनाएको छ । शिलान्यास कार्यक्रम सचिव प्रेम कुमार खड्काले सञ्चालन गरेको थियो ।

झुम्का खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अध्यक्ष केशि लाल चौधरीको सभाध्यक्षमा आयोजित शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य नवोदित चौधरी, खानेपानी मन्त्रालय सचिव सुरेश आचार्य, नगरप्रमुख जयप्रकाश चौधरी नेपाली कांग्रेसका नगर सभापति सुदीप अधिकारी लगायतले खानेपानीको महत्व बारेमा बोल्नु भएको थियो ।