सुनसरी : कोरोना भाइरसको तेस्रो लहर बढिरहेको बेला नेपालसँग खुला सीमा रहेको जिल्लाको कोसी गाउँपालीका ८ स्थित भण्टाबारी नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको छ । भारतमा सङ्क्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा त्यसलाई रोकथाम गर्ने उद्देश्यले कोसी गाउँपालीका ८ भण्टाबारीस्थित तिनकुने नाकामा हेल्थ डेस्क स्थापना गर्दै उच्च सतर्कता अपनाइएको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।
भण्टाबारी नाका हुँदै सुनसरी आवातजावत गर्ने व्यक्तिबाट सङ्क्रमण फैलन सक्ने भएकाले सीमामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नेपाल भित्रिन सक्ने अवस्थालाई ध्यानमा राखी भारतसँगको भण्टबारीको मुख्य नाकामा कोरोना भाइरस सङ्क्रमण जाँचमा कडाइ गरिएको प्रजिअ इन्द्रदेव यादवले जानकारी दिए ।



















