मोरङ / कुटपिट गरेर मोरङको केराबारी गाउँपालिका–६ को मुगु भन्ने ठाउँमा छाडिएका एक जना युवक शुक्रबार मृत फेला परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षीय अनिश कटुवाल एउटा घरभित्र सुतिरहेको अवस्थामा मृत फेला परेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए ।
उनका अनुसार कटुवाल केराबारी–६ का खेम लिम्बूको घरभित्र मृत भेटिएका हुन् । चार–पाँच जनाको सङ्ख्यामा रहेका युवाहरूले बिहीबार दिउँसो कुटपिट गरेर छाडिदिएपछि अनिश घटनास्थलनजिक रहेको लिम्बूको घरमा पुगेर सुतेको प्रहरीले जनाएको छ ।
बिसीका अनुसार कोठाभित्रबाट चुक्कुल लगाएर सुतेका उनी नउठेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । शुक्रबार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुक्कुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै शव भेटिएको उनले बताए ।
उनका अनुसार अनिश र उनका साथी धरान पानमाराकै २० वर्षीय विशाल विश्वकर्मामाथि मोबाइल चोरीको आरोप लगाएर बिहीबार दिउँसो ४ बजेतिर युवाहरूले केराबारीको मुगु पुलनजिक कुटपिट गरेको खुलेको छ ।
धरानकै युवाहरूले दुवै जनालाई मुक्का, लात्ता र दाउराले कुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटपछि विशाललाई मोटरसाइकलमा राखेर लगेका युवाहरूले अनिशलाई भने घटनास्थलमै छोडेको पाइएको छ ।
जबरजस्ती युवाहरूले लिएर गएको जानकारी पाएलगत्तै प्रहरीले विशाललाई उद्धार गरेर पानमारा पु¥याएको थियो । चोरी भएको भनिएको मोबाइलको १७ हजार रुपैयाँ तिरिदिने कबुल प्रहरी कार्यालयमै गरेका विशालले साथमा रहेको चार हजार रुपैयाँ भने दिएका थिए । बाँकी १३ हजार दुई सातापछि तिर्ने शर्त राखेका उनलाई पानमाराकै विकास कटुवालले प्रहरी कार्यालयबाट जिम्मा लिएर लगेका थिए ।
टिपर सञ्चालक रहेका विकास मृतक अनिशका काका हुन् । अनिश र विशाल दुवै जना विकासले सञ्चालन गरेको टिपरमा काम गर्ने युवाहरू रहेको प्रहरीले जनाएको छ । बाटोमा टिपर पर्खिएर बसिरहेका बेला चार–पाँच जना युवा आएर मोबाइल चोरी गरेको आरोप लगाउँदै दुवै जनामाथि कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चोरी भएको भनिएको मोबाइलको १७ हजार रुपैयाँ तिर्ने कबुल गरेका विशालले भने मोबाइल चोरी नगरेको र आफूहरूमाथि पुनः कुटपिट हुनसक्ने डरका कारण पैसा तिरिदिने अवस्थामा पुगेको प्रहरीलाई बताएका छन् । तर बिहीबार आफूहरूमाथि कुटपिट गरिएको घटनाका बारेमा भने उनले प्रहरीलाई जानकारी नै दिएका थिएनन् । सँगै कुटाइ खाएका साथी सुतेकै ओछ्यानमा मृत भेटिएपछि मात्रै विशालले अघिल्लो दिनको घटनाका बारेमा बताएको डिआइजी बिसीको भनाइ छ ।
घटनाको अनुसन्धानका लागि बिसीले प्रहरीको विशेष टोली परिचालन गरिसकेका छन् । कुटपिटबाटै अनिशको मृत्यु भएको हो कि होइन भन्ने बारेमा यकिन हुन बाँकी रहेको उनले बताए । उनका अनुसार शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि र घटनाको अनुसन्धान सकिएपछि मृत्युको यथार्थ पत्ता लाग्ने प्रहरीले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्नमध्येका एक जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान अघि बढाइएको जनाएको छ । घटना अनुसन्धानकै क्रममा रहेको भन्दै नियन्त्रणमा लिइएका युवाको नाम भने प्रहरीले खुलाएको छैन ।



















