काठमाडौं,। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवनकुमार पाठकले निवर्तमान अध्यक्ष कमल थापाले अनपेक्षित र अप्रत्यासित रुपमा पार्टी परित्याग गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाठकले भने, “राप्रपा फुटेको छैन । निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने मात्र भन्नुभएको हो । हामीलाई के आशा र भरोसा छ भने उहाँले अझै पनि त्यो निर्णय सच्चाउनुहुनेछ र फेरि राप्रपामा सक्रिय हुनुहुनेछ । ”
थापालाई आफ्नो निर्णय फिर्ता लिन पदाधिकारी तहको बैठकबाट निर्णय गराएको पनि उनले बताए । राप्रपा महामन्त्री पाठकले भने, “उहाँ लामो समय पार्टी अध्यक्ष रहनुभयो, पार्टीका तर्फबाट उपप्रधानमन्त्री र पटक पटक मन्त्री बन्नुभयो । यसरी पार्टीलाई चटक्कै छाडेर अर्को पार्टी खोल्नुहोला भन्ने मलाई विश्वास लाग्दैन ।”
निवर्तमान अध्यक्ष थापाले राखेका मागबारे छलफल चलिरहँदा प्रत्यासित रुपमा पार्टी परित्याग गरेको पनि पाठकले औंल्याए । उनले थपे, “उहाँले राखेका सरोकारका विषयलाई कुन मोडालिटीमा सम्बोधन गर्न सकिन्छ भनेर हामी पदाधिकारीहरु निरन्तर छलफलमा थियौं । करिब करिब अन्तिम चरणमा पुगेका थियौं । हिजो नै निर्णय गर्ने तयारी थियो । तर हामी बैठकमा हुँदा नै उहाँको अनपेक्षित र अप्रत्यासित निर्णय आयो । उहाँले किन यसो गर्नुभयो ? मैले बुझ्न सकेको छैन ।”
कमल थापा अलग भएपछि पार्टीलाई नोक्सान हुँदैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “पार्टीको अध्यक्ष भइसकेको व्यक्ति नोक्सान नहुने त प्रश्न नै भएन । प्रजातान्त्रिक पार्टीभित्र फरक विचार र फरक शैली हुनु स्वाभाविक हो । तर महाधिवेशनभन्दा माथि कोही पनि हुन्न । उहाँले पनि परिणाम स्वीकार नै गर्नुभएकै हो । यसरी पार्टी छाड्नुहोला र यस्तो निर्णयमा पुग्न सक्नुहोला भन्ने सोचेका थिएनौं ।”
कमल थापाले त राजसंस्था पुनःस्थापना छाडेर हिन्दुवादी पार्टी खोल्ने कुरा गर्नुभएको छ नि भन्ने प्रश्नमा उनले भने, “यो उहाँको व्यक्तिगत अधिकार हो । यसमा मलाई केही भन्नु छैन । तर राप्रपाको मूल एजेन्डा राजासहितको प्रजातन्त्र र हिन्दु राज्य पुनःस्थापना हो । हामी त्यसमै लाग्छौं ।”
तपाईं कमल थापा प्यानलबाट महामन्त्रीमा निर्वाचित हुनभएको हो, अब कमल थापा सँगै रहनुहुन्छ कि राप्रपामा बस्नुहुन्छ भन्ने प्रश्नमा नेता पाठकले भने, “हिजो कमल थापालाई हामीले सहयोग गरेका हौ, उहाँले पनि हामीलाई सहयोग गर्नुभएको हो । मलाई बहुमत महाधिवेशन प्रतिनिधिले निर्वाचित गरेका हुन् । त्यो साथ छाड्ने कुरा छैन । कमल थापा नरहँदैमा राप्रपा छाड्ने प्रश्न नै रहेन । म पार्टी छाड्दिनँ ।”



















