कोकिला भण्डारी
धनकुटा । जुनियर र युवा रेडक्रस सर्कलमा आधारित किवी खेती बारे नविनतम कार्यक्रम सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखामा संचालित जुनियर र युवा रेडक्रस सर्कल सवलीकरण कार्यक्रम अन्तरगत भानु माध्यमिक बिद्यालय डाडाँ बजारको युवा सर्कलका विद्यार्थीहरुलाई किवी खेती बारे उक्त अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको नेपाल रेडक्रस सोसाईटी धनकुटा जिल्ला शाखाका सभापति हरि कुमार राईले जानकारी दिनुभयो ।
अभिमुखिकरणमा वडाका कृषि प्राविधिक खरिमाया मगरले किवी खेतीको सम्भावना, खेती गर्ने तौर तरिका, प्रकृया, किवीका प्रकार, किवीको शुरुवात, किवीका विभिन्न जात, नाम, किवी खेतीकालागि माटो परिक्षण लगायतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
अभिमुखिकरणको अवसर पारेर उक्त विद्यालयको हातामा रहेको एकरोपनी क्षेत्रफलमा ट्रष्टको मचान सहित किवी खेतीका लागि निर्माण गरिएको नविनतम नमुना बगैँचा र शुरु गरिएको किवी खेतीको अनुगमन टोलीले अनुगमन समेत गरेको छ ।
पठाइ सँग सँगै थालनी गरिएको किवी खेतीले सर्कलका विद्यार्थीहरुको आन्तरिक आय समेत बढाउने र कृषि खेतीमा विद्यार्थीलाई ज्ञान सिप दिदै दक्ष बनाउने अपेक्षा गरिएको छ । जसले गर्दा आगामी दिनमा विद्यार्थीले आआफ्ना घरमा अभिभावकहरुलाई आफुले सिकेको सिपलाई सदुपयोग गर्दै किवी खेतीतर्फ अभिभावकको ध्यान लान सक्ने छन् ।
साँगुुरीगढी गाउँपालिका स्थित नेपाल रेडक्रस सोसाईटी डाडाँबजार उपशाखाको हलमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी डाडाँबजार उपशाखाका सभापति भिमशंकर काफ्ले, सदस्य त्रिलोचन घिमिरे, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम लिम्बु, प्राविधिक शिक्षक, नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाका बकस विष्णु कृष्ण जोसि, भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।




















